Login / Sign Up My booking
Palungtar Plunges into Mourning After 30 Villagers Go Missing; Relatives Say, “We’d Find Some Closure Even If We Found Their Bodies.”
INFO General update FEATURED

Palungtar Plunges into Mourning After 30 Villagers Go Missing; Relatives Say, “We’d Find Some Closure Even If We Found Their Bodies.”

३० गाउँले बेपत्तापछि शोकमा डुब्यो पालुङटार, आफन्त भन्छन्-‘अब त लास भेटिए पनि चित्त बुझाउँथ्यौँ’

पालुङटार ५ ठाँटीपोखरीका दिलबहादुर खत्रीको घरआँगनमा तीन दिन भयो दिनभरि पनि झलल्ल विजुली बत्ती बलिरहन्छ । गत बुधबारदेखि बलेको यो बत्ती कुनै हर्ष बढाइँले होइन, निभाइदिने मान्छे नभएर हो । 

गोसाइँकुण्ड तीर्थ गर्न भनी गत बुधबार बिहान चारबजे निस्केका दिलबहादुर र उनकी पत्नी मुरारी भोटेकोशीको बाढीमा परेर बेपत्ता भएपछि न उनको घरको ढोका खोलिदिने कोही छ, न घरभरि बलेको बत्ती निभाइदिने । ‘बत्ती बालेर जानु भार’छ, मार्ने मान्छे नि कोही छैन’, छिमेकी बलराम रानाभाट भन्छन्, ‘गोसाइँकुण्ड जानुछ भनेर मेरो पसलबाट अघिल्लो साँझ खाजा प्याक गरेर लानुभा’थ्यो । भोलिपल्ट बिहान ११ बजेतिर उहाँहरु चढेको बस भोटेकोशीको बाढीले लग्यो रे भन्ने खबर पो सुनियो ।’

खत्री दम्पतिका जम्मा दुई सन्तानमध्य जेठीछोरी बेलायत र कान्छी अमेरिकामा छन् । घर रुँगेर बस्ने उनीहरु पनि भोटेकोशीको बाढीमा परेपछि सुकाएर गएको मकै आजसम्म पनि आँगनको आँगनै असरल्लै छ । ‘पहिले–पहिले घरबाट कतै निस्किने बेलामा लौ है हाम्रो घर रेखदेख गरिदेऊ भन्नुहुन्थ्यो । अहिले त केही नभनी जानुभयो’, अर्की छिमेकी भवानी थापा भन्छिन्, ‘गाउँभरिका मान्छे भोटेकोशीमा परेका छन् । दिनभरि रुवाबासी हुन्छ । रातभरि मन छटपटिन्छ, भक्कानिन्छ । कतै वनबुटामा अल्झिएर बाँच्नुभा’छ रे भन्ने खबर आए नि हुन्थ्यो ।’ भवानी मात्र होइन, अहिले ठाँटीपोखरीका सबैजना शोकमा डुबेका छन् । यहाँका बासिन्दा गोसाइँकुण्ड स्नान गर्न भनी गत विहिबार बिहान दुईवटा माइक्रोबस र एउटा ठूलो बस चढेर निस्किएका थिए । 

 

मध्यरातको एकबजे निस्किएको एक माइक्रोबस बाढी आउनुभन्दा पहिल्यै सुरक्षित स्थानमा पुगिसकेको थियो । अर्को माइक्रोबस बाढीको मुखैमा पुगेर बाढीको भन्दा छिटो गतिमा फर्किएर बचेको थियो । बस र त्यसभित्रका यात्रुहरु भने बाढीभित्र पुरिएको प्रत्यक्षदर्शी बताउँछन् । बसभित्र रहेका ३६ यात्रुमध्य ६ जना हाम्फालेर बचेका छन् । ३० यात्रुको अवस्था अहिलेसम्म अज्ञात छ । 

सो घटनाले पालुङ्टारबासी शोकमा चुर्लुम्म छन् । खल्तीको मोबाइलमा घण्टी बज्दा पनि कोही जीवित भेटिएको वा कसैको शव पहिचान भएको खबर आयो कि भन्ने आशामा उनीहरु चनाखो हुन्छन् । ‘यहाँको जुन घरमा हेर्नुहुन्छ सबैको घरमा रुवाबासी छ । कसैको आँखा ओभानो छैन’, लक्ष्मण गिरी भन्छन्, ‘बेपत्ता भएकाहरुको घरमा छरछिमेक, इष्टमित्र भेला भएर सम्झाउने, सान्त्वना दिने गरिरहेका छन् ।

चोक–चौतारामा झुरुप्प भेला हुने, कहीँ, कोही फेला परेको खबर आउँछ कि भनेर चनाखो भएर बस्ने गरेका छन् ।’ कोही गोरखा अस्पताल, भरतपुर अस्पताल, पोखराको गण्डकी अस्पतालका शवगृहहरुमा आफन्तको शव चिनिन्छ कि भनेर कुरेर बस्ने गरेका गिरी बताउँछन् । ‘कोही शवगृहमा कुरेर बसेका छन्, कोही त्रिशुली किनारतिर भौँतारिरहेका छन्’, उनी भन्छन्, ‘कसैको औँलामात्र भेटियो भन्छन्, कसैको हत्केला मात्र भेटियो भन्छन् । कसरी चिन्ने ? अहिले त यस्तो अवस्था भइसक्यो कि लास पाउँदा पनि खुशी हुनुपर्ने भइसक्यो ।’

गाउँका ३६ जना चढेको ठूलो बस आफ्नो आँखै अघि बाढीले छोपेको देखेको माइक्रोबसका यात्रु ताराबहादुर गुरुङ बताउँछन् । ‘हामीभन्दा ५० मिटर अगाडि थियो त्यो बस’, गुरुङ भन्छन्, ‘आकासबाट उँडेर आएको बादलजस्तो देखिन्थ्यो बाढी हो कि के हो, त्यो बसलाई ढाकेको देख्नेवित्तिकै हाम्रो ड्राइभरले गाडी फनक्कै मोड्यो र बाढीले नभेट्टाउने स्पीडले कुदायो अनि हामी बाँच्यौँ ।’ बाँचेर फर्कने कतिपय यात्रुहरु अहिलेसम्म पनि घटनाको सम्झनाले बेलाबेला होश गुमाउने, बर्बराउने समस्यामा रहेको उनको भनाइ छ ।

गत भदौ १० गते करिब ८:५० बजे नुवाकोटको लेन्देखोला आसपासबाट बाढीमा बेपत्ता भएको ग २ ख ११५२ नंबरको बस र त्यसमा सवार सो ३६ जना यात्रुहरुमध्य ६ यात्रु हाम्फालेर ज्यान बचाएका पालुङटार नगरपालिकाले जनाएको छ । 

बसमा सवार यात्रुहरु आजसम्म सम्पर्कविहिन रहेका पालुङ्टार नगरपालिकाले सार्वजनिक गरेकाे सूचनामा छ : 

नाम    ठेगाना :
सागर देवकोटा            पालुङ्टार ५
राममाया देवकोटा             पालुङ्टार ५
पद्मकुमारी देवकोटा            पालुङ्टार ५
तारा रानाभाट                पालुङ्टार ५
रामहरि देवकोटा             पालुङ्टार ५
कमला देवकोटा            पालुङ्टार ५
सुजाता कौडाल            पालुङ्टार ५ 
दुर्गादेवी देवकोटा            पालुङ्टार ५
सपना देवकोटा            पालुङ्टार ५
कृष्णकला सपना             पालुङ्टार ५
मायादेवी देवकोटा            पालुङ्टार ५
नानुमाया थापा            पालुङ्टार ५
दुर्गा देवकोटा                पालुङ्टार ५
चिनीमाया खत्री            भानु नपा ८
शारदा देवकोटा            पालुङ्टार ५
मुक्ति अम्गाई                पालुङ्टार ५
मिठुमाया अम्गाई            पालुङ्टार ५
घनश्याम देवकोटा            पालुङ्टार ५
सम्झना देवकोटा            पालुङ्टार ५
मायादेवी खड्का            पालुङ्टार ५
सुस्मा न्यौपाने                पालुङ्टार २
केदार पण्डित                पालुङ्टार ५
सरिता अधिकारी पण्डित        पालुङ्टार ५
मधुमाया पण्डित             पालुङ्टार ५
कमला पण्डित            पालुङ्टार ५
दिलबहादुर खत्री            पालुङ्टार ५
मुरारी खत्री                पालुङ्टार ५
सुमी कुमाल                पालुङ्टार ७
सुस्मिता कुँवर                भानु नपा २
गोमा पपने                पालुङ्टार ५,

News- anapourapost

WhatsApp Facebook

← All updates