
Bodies of 229 People Found in Chitwan to Be Buried at Devghat
चितवनमा भेटिएका २२९ जनाको शव देवघाटमा जमिनमुनि गाडिने
विनाशकारी बाढीमा परी चितवनमा विभिन्न स्थानबाट संकलन गरिएका पहिचान हुन नसकेका शवको आज भू-व्यवस्थापन (जमिनमुनि गाड्ने) गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार एक सूचना जारी गर्दै हालसम्म संकलन गरिएका २३३ शवमध्ये ४ वटाको मात्रै पहिचान भएको र बाँकी २२९ वटा शव तथा शवका अवशेषहरू सडे-गलेको अवस्थामा रहेकाले तिनको सामूहिक व्यवस्थापन गर्न लागिएको जनाएको छ।
अस्पताल, होल्डिङ सेन्टर र नदी किनारबाट संकलन गरिएका शवहरू अब पहिचान गर्न नसकिने गरी बिग्रिएको र दुर्गन्ध फैलन थालेकाले महामारीको जोखिम बढेको स्वास्थ्य क्षेत्रका विज्ञहरूले चेतावनी दिएकाले शव व्यवस्थापन गर्नै पर्ने बाध्यता रहेको प्रशासनको भनाई छ। सोही जोखिमलाई ध्यानमा राख्दै जिल्ला सुरक्षा समितिको भदौ १३ गतेको निर्णयअनुसार 'पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३' बमोजिम शवहरू जमिनमुनि व्यवस्थापन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।
अर्यालका अनुसार सबै शवहरूको डीएनए नमुना संकलन गरी संकेत नम्बरका आधारमा विस्तृत अभिलेख राखिनेछ। त्यसपछि भरतपुर महानगरपालिका वडा नं. १ स्थित देवघाटको खुला स्थानमा शवहरूको सम्मानजनक र सुरक्षित रूपमा व्यवस्थापन गरिनेछ। शव गृह / कोल्ड स्टोरमा लामो समयसम्म शव नराखिने भएपश्चात आफन्तको खोजी गर्दै हिँडिरहेका मृतकका परिवारले शव नभेट्दा दाहसंस्कार गर्न नपाउने भएका हुन्। प्रशासनले बाध्यात्मक निर्णयका कारण पीडित परिवारमा पर्न गएको असुविधाप्रति क्षमा याचनासमेत गरेको छ।