Login / Sign Up My booking
58 Unidentified Bodies from Bhotekoshi–Trishuli Flood Temporarily Preserved in Kathmandu, DNA Matching to Follow
INFO Flood & disaster FEATURED

58 Unidentified Bodies from Bhotekoshi–Trishuli Flood Temporarily Preserved in Kathmandu, DNA Matching to Follow

भोटेकोशी–त्रिशूली बाढीमा मृत्यु भएका ५८ शव अस्थायी रूपमा सुरक्षित व्यवस्थापन, डीएनए परीक्षणपछि परिवारलाई बुझाइने

काठमाडौं — रसुवा, नुवाकोट र धादिङ जिल्लाका भोटेकोशी तथा त्रिशूली नदी किनारमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका तथा हालसम्म पहिचान हुन नसकेका ५८ वटा शवलाई काठमाडौंमा अस्थायी रूपमा सुरक्षित व्यवस्थापन गरिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचनाअनुसार बाढीपछि मृतकका शवहरू काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको थियो। पहिचान भएका शवहरू सम्बन्धित परिवारलाई हस्तान्तरण गरिसकिएको भए पनि अस्पतालको शवगृहमा रहेका अधिकांश शवहरू क्षतविक्षत अवस्थामा रहेको, कतिपयमा पहिचान गर्न कठिन हुने गरी अंगभंग भएको तथा केही शवमा हड्डी मात्र बाँकी रहेको जनाइएको छ।

शवहरू लामो समयसम्म अस्पतालमै राखिरहँदा थप सड्ने, दुर्गन्ध फैलिने तथा महामारीजन्य जोखिम बढ्न सक्ने अवस्था देखिएपछि जिल्ला सुरक्षा समिति काठमाडौंको २०८३/०४/१५ गतेको निर्णयअनुसार हालसम्म पहिचान हुन नसकेका शवहरूको अस्थायी व्यवस्थापन गरिएको प्रशासनले जनाएको छ।

प्रशासनका अनुसार शव व्यवस्थापन गर्नुअघि प्रत्येक शवको फोटो खिच्ने, मृत शरीरको अंगबाट डीएनए परीक्षणका लागि नमुना संकलन गर्ने र Body Tag लगाउने प्रक्रिया पूरा गरिएको छ। त्यसपछि पहिचान हुन नसकेका ५८ शवलाई अस्थायी रूपमा सुरक्षित स्थानमा व्यवस्थापन गरिएको हो।

शव व्यवस्थापनको क्रममा राष्ट्रिय मानव अधिकार आयोग, नेपाल रेडक्रस सोसाइटी र नेपालस्थित ICRC का प्रतिनिधिहरूबाट समेत पर्यवेक्षण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रशासनले शव व्यवस्थापन गर्दा अन्तर्राष्ट्रिय प्रोटोकल तथा राष्ट्रिय कार्यविधिको पालना गरिएको दाबी गरेको छ।

अब मृतकहरूको पहिचानका लागि संकलित डीएनए नमुनाको वैज्ञानिक परीक्षण तथा DNA matching गरिनेछ। डीएनए परीक्षणबाट शवको पहिचान पुष्टि भएपछि सम्बन्धित परिवारलाई अन्तिम संस्कारका लागि मृतकका अवशेष हस्तान्तरण गरिने प्रशासनले जनाएको छ। पहिचान तथा हस्तान्तरणसम्बन्धी जानकारी सम्बन्धित पक्षलाई जिल्ला प्रशासन कार्यालयमार्फत उपलब्ध गराइने पनि सूचनामा उल्लेख छ।

गत २०८३ साल असार १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो। बाढीमा बेपत्ता तथा मृत्यु भएका व्यक्तिहरूको पहिचान र शव व्यवस्थापन चुनौतीपूर्ण बनेको अवस्थामा प्रशासनले वैज्ञानिक विधिबाट पहिचान प्रक्रिया अघि बढाएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस विपद्मा ज्यान गुमाएका सम्पूर्ण व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।

WhatsApp Facebook

← All updates